काठमाडौं - दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको उच्चस्तरीय बैठकले चाडपर्वमा घर जाने यात्रुको सहजताका लागि अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो।
विभागको आयोजनामा भएको बैठकमा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिबीच छलफल भएको थियो। छलफलपछि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति जुटेको हो ।
यस वर्ष दशैंको अवधिमा मात्रै १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने आकलन गरिएको छ। अग्रिम टिकट बुकिङ नखुल्दा तथा केही कम्पनीले मात्रै अनलाइन बुकिङ लिइरहेका कारण यात्रुमा देखिएको अन्योल अब हट्ने अपेक्षा गरिएको छ।
बैठकले यात्रुको सुरक्षा र यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न निर्णयसमेत गरेको छ। अब लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्नेछ।
त्यस्तै, टिकट काउन्टरमा खटिने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र युनिफर्म लगाउनुपर्ने तथा टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।
चाडपर्वको मौका छोपेर तोकिएभन्दा बढी भाडा असुल्ने, कालोबजारी गर्ने वा टिकटमा अनियमितता गर्ने जोसुकैलाई कडा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ। पारदर्शी टिकट प्रणालीका लागि सरकार, यातायात व्यवसायी र सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरिने जनाइएको छ।
यात्राको क्रममा राजमार्गमा हुने अवरोध तथा दुर्घटनाबारे तत्काल सूचना आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याउने निर्णयसमेत भएको विभागले जनाएको छ ।
बैठकले सम्पूर्ण यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानीलगायत अत्यावश्यक सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ।
बसपार्क तथा टिकट काउन्टरमा हुने अत्यधिक भीड व्यवस्थापन गर्न र टिकट नपाएर यात्रुले सास्ती भोग्नुपर्ने अवस्था अन्त्य गर्न सुरक्षा निकायको प्रभावकारी परिचालनमा समेत बैठकले जोड दिएको छ।
दशैं–तिहारको यात्रालाई सुरक्षित, व्यवस्थित र सहज बनाउन सरकार, व्यवसायी तथा सुरक्षा निकायबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने प्रतिबद्धता बैठकमा व्यक्त गरिएको छ।

.gif)


