काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् ।

सहिद दिवसका अवसरमा उनले शुक्रबार जारी गरेको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका निम्ति आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

सन्देशमा भनिएको छ, ‘उहाँहरूको साहस, चेतना र संकल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् । न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि नमन ।’

प्रधानमन्त्री कार्कीले सन्देशमा शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकको स्मरणमा सदा रहनुपर्नेमा जोड दिएकी छन् ।