काठमाडौं - नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।
सभापति गगनकुमार थापाको नेतृत्वमा बस्न लागेको बैठकमा स्थानीय तह निर्वाचनको पूर्वतयारीका लागि सञ्चालन भइरहेको ‘हामी तयार छौँ’ अभियानको प्रभावकारिता, केन्द्रीय नेताहरूको जिम्मेवारी र संगठन परिचालनबारे छलफल हुने भएको छ। बैठक दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले अभियान सञ्चालनका विषयमा आ–आफ्ना धारणा र सुझाव राख्नेछन्। नेताहरूले अभियानमा निर्वाह गर्ने भूमिका, जिम्मेवारी र कार्यक्षेत्रबारे समेत छलफल हुनेछ।
कांग्रेसले आगामी स्थानीय तह निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि मंसिर १ गतेदेखि देशव्यापी रूपमा ‘हामी तयार छौँ’ अभियान सञ्चालन गरिरहेको छ। १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार मंसिर महिनाभर सञ्चालन हुने अभियान वडा तहसम्म विस्तार गरिएको छ।
अभियानमार्फत वडा तहदेखि केन्द्रसम्मका कार्यसमिति सदस्य, क्षेत्रीय प्रतिनिधिसहित करिब तीन लाख नेता–कार्यकर्ता परिचालन गर्ने कांग्रेसको लक्ष्य छ। त्यसका लागि केन्द्रीय नेताहरूलाई जिल्ला तथा स्थानीय तहसम्म खटाउने र पार्टीका तल्लो तहका संरचनालाई सक्रिय बनाउने तयारी गरिएको छ।
अभियानको मुख्य उद्देश्य आगामी निर्वाचनको तयारीसँगै पार्टीको संगठनात्मक सुदृढीकरण र रूपान्तरण गर्नु रहेको कांग्रेसले जनाएको छ।
पार्टीका नीतिगत निर्णय, १५औँ महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमलाई तल्लो तहसम्म पुर्याउने र प्रमुख प्रतिपक्षी दलका रूपमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयलाई पनि अभियानमा समेटिएको छ।
यस क्रममा कांग्रेसले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्ने, आमनागरिकका गुनासा र सुझाव सुन्ने तथा स्थानीय तहमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीति लिएको छ।
नेताहरू तथा कार्यकर्ताहरू टोल–टोल र घर–घरमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रमसमेत तय गरिएको छ।
अभियानका क्रममा स्थानीय नागरिकका समस्या, आवश्यकता र अपेक्षा बुझ्नुका साथै पार्टीका आर्थिक, शिक्षा, स्वास्थ्य, विकास तथा रूपान्तरणसम्बन्धी नीति र कार्यक्रमबारे जानकारी गराइने कांग्रेसले जनाएको छ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट, संगठन परिचालन र जनतासँगको सम्बन्ध विस्तारको आधार तयार पार्ने उद्देश्य पनि अभियानले लिएको छ। यसक्रममा स्थानीय तहमा पार्टीको अवस्था, संगठनको सक्रियता र जनताको अपेक्षाबारे जानकारी संकलन गरिनेछ।
सभापति थापासहित कांग्रेसको केन्द्रीय नेतृत्व पछिल्लो समय मधेस तथा तराई क्षेत्रमा पार्टीका नेता–कार्यकर्ता र स्थानीय तहका प्रतिनिधिसँगको भेटघाट तथा छलफलमा सक्रिय रहेको थियो।
आजको बैठकले अभियानलाई थप व्यवस्थित बनाउने, केन्द्रीय नेताहरूको जिम्मेवारी र कार्यक्षेत्र निर्धारण गर्ने तथा जिल्ला र स्थानीय तहसम्म नेतृत्व परिचालनको कार्ययोजनाबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

.gif)


