काठमाडौं - निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमाथिको सुनुवाइ आगामी ९ मंसिरमा हुने भएको छ।
सर्वोच्च अदालतले नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई म्याद बुझाउन प्रहरी प्रधान कार्यालयलाई आदेश दिँदै अर्को सुनुवाइको मिति तोकेको हो।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आगामी ९ मंसिरका लागि पेसी तोकेको हो। विशेष अग्राधिकारसहित सुनुवाइ गर्ने गरी पेसी तोकिए पनि विपक्षीलाई म्याद तामेल भएको प्रमाण पेस हुन नसकेपछि सुनुवाइ अघि बढ्न सकेन।
यसअघि रिटको पहिलो सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्न दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको थियो।
सर्वोच्च अदालतले गत मंसिर ४ गते आईजीपी डा. केसीका नाममा म्याद जारी गरेको थियो। उक्त म्याद बुझाउन प्रहरी प्रधान कार्यालय पुगेका अदालतका तामेलदारलाई कार्यालयका कर्मचारीले आईजीपी बैठकमा गएको र फर्किने भन्दै कार्यालय समयसम्म पर्खाएका थिए। तर, कार्यालय समय सकिँदासम्म पनि केसी उपस्थित नभएपछि म्याद बुझाउन नसकिएको प्रतिवेदन तामेलदारले अदालतमा पेस गरेका थिए।
सोमबारको सुनुवाइमा प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित अधिवक्ताले प्राविधिक कारणले म्याद बुझ्न नसकिएको जिकिर गर्दै पुनः म्याद जारी भए नफर्किने प्रतिबद्धता जनाएका थिए। त्यसपछि इजलासले प्रहरी प्रधान कार्यालयलाई प्रतिनिधित्व गर्ने अधिवक्तामार्फत नै मंसिर ४ गते जारी भएको म्याद बुझाई नियमानुसार पेस गर्न आदेश दिएको छ।
साथै, आगामी ९ मंसिरको पेसीलाई प्राथमिकता दिई पालो आउने गरी सुनुवाइ गर्न र त्यसको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई समेत दिन आदेश भएको छ।
सरकारले गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो। उनको स्थानमा एआईजी केसीलाई आईजीपीमा बढुवा गरिएको थियो।
सरकारको उक्त निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले आफूलाई पदमुक्त गर्ने निर्णय बदर गरी पुनः आईजीपीमा बहाली गर्न माग गरेका छन्।
यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी नगरी दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।

.gif)


