काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को दुई दिने भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति भएको छ ।
सहमतिअनुसार भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने छ । संयुक्त विज्ञप्तिको बुँदा नम्बर ८ मा भनिएको छ–‘हाल एकतर्फी रहेको ‘बी३४५’ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्। यस सम्बन्धमा मोडालिटीलाई अन्तिम रूप दिन तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।‘
आज दुई देशबीचका प्रधानमन्त्रीको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा हवाई रुटबारे उल्लेख नगरिए पनि केहीबेरअघि जारी संयुक्त वक्तव्यमा भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने उल्लेख छ ।
नेपाललाई भैरहवा रुटको अनुमति दिएबापत भारतले पनि नेपालसँग बागडोग्रा एयरपोर्टका लागि हवाई रुट मागेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको द्विपक्षीय वार्तामा नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी माग सम्बोधन गर्ने सहमति जुटेको हो । यससँगै नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रको एउटा महत्त्वपूर्ण कूटनीतिक अवरोध हट्ने अपेक्षा गरिएको छ ।
नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको थियो । विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप रुट आवश्यक रहेको नेपालको तर्क रहँदै आएको थियो ।
हाल अन्तर्राष्ट्रिय उडानका लागि सीमित प्रवेशमार्गमा निर्भर रहनुपर्दा नेपालको हवाई उड्डयन क्षेत्र प्रभावित हुँदै आएको छ ।
नयाँ प्रवेशमार्ग उपलब्ध भएपछि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई नेपालका क्षेत्रीय विमानस्थलसम्म उडान सञ्चालन गर्न सहज हुने र उड्डयन क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढ्ने अपेक्षा छ । यसअघि पनि नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा हवाई रुटको विषय प्राथमिकताका साथ उठ्ने गरे पनि ठोस सहमति हुन सकेको थिएन ।

.gif)



