मौसम:यी प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा आंशिकदेखि साधरणतया बदली रही देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस