काठमाडौं - विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद्, कानून एवम् न्याय क्षेत्रका विशेषज्ञसँग परामर्श गर्ने भएका छन् । 

सभामुख सापकोटाले संघीय संसद् नयाँ बानेश्वरमा दिउँसो १ बजे संविधानविद्, कानुनविद् र न्यायिक क्षेत्रका विज्ञसँग परामर्श गर्ने भएका हुन् । बैठकमा प्रतिनिधिसभा विघटनका विषयमा परामर्श हुनेछ । परामर्शमा वरिष्ठ अधिवक्ताहरू, संविधानविद्, कानुनविद्लाई बोलाइएको छ । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा संसद भंग गरि मध्यावधि चुनावको घोषणा गरेकी छन् । त्यसविरुद्ध विपक्षी दलको गठबन्धनले दायर गरेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई सुरु हुँदैछ ।

प्रतिनिधि सभा विघटन भएपछि निरन्तर छलफलमा जुटेका सभामुख सापकोटाले यसअघि पूर्वसभामुखहरुसँग पनि परामर्शमा गरिसकेका छन् । सभामुख सापकोटाले दोस्रोपटक भएको विघटन असंवैधानिक भएको भन्दै आफ्नो धारणासमेत सार्वजनिक गरिसकेका छन्।