निर्वाचन नै वर्तमान संकटको एकमात्र निकास हो : प्रधानमन्त्री कार्की
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले मुलुक नयाँ राजनीतिक मोडमा उभिएको बेला विद्यमान सङ्कटको स्थायी समाधान निर्वाचन नै भएको स्पष्ट पारेकी छन् ।
शुक्रबार बालुवाटारमा आयोजित बहुपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले सरकारको एक मात्र उद्देश्य आगामी चुनाव सफलतापूर्वक सम्पन्न गरी निर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्नु रहेको बताएकी हुन् ।
‘जेनजी’ विद्रोहपछि गठित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी कार्कीले चुनाव नहुने शङ्का त्याग्न सबै राजनीतिक दल र सरोकारवालालाई आग्रह गरिन् ।
बैठकको समापन मन्तव्यमा उनले भनिन्, ‘चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ, कसरी सफल बनाउने भन्नेमा सबै एकचित्त होऊँ। १२६ वटै दलले चुनाव अपरिहार्य हो भन्ने धारणा राख्नुपर्छ।’
प्रधानमन्त्री कार्कीले आफूहरू कुनै दलविरोधी नभएको र राजनीतिक स्थायित्व र संस्थागत विकासका लागि चुनाव आवश्यक रहेको दोहोर्याइन् ।
‘हामी जेनजी आन्दोलनबाट आएका हौँ, तर दलका विरोधी होइनौँ। हाम्रो कुनै निजी स्वार्थ छैन। देशले दिएको जिम्मेवारी पूरा गर्नु नै हाम्रो लक्ष्य हो,’ उनले स्पष्ट पारिन्।
उनले जेनजी आन्दोलनलाई राष्ट्रको जीवनमा आएको अप्रत्यासित मोडको रूपमा व्याख्या गर्दै तत्कालीन सशक्त सरकार परिस्थितिलाई नियन्त्रणमा लिन असफल हुँदा ठूलो राजनीतिक परिवर्तन भएको उल्लेख गरिन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस