काठमाडौं - हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचन असोज १४ गते हुने भएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डिपी अर्यालले समितिको सभापति चयनका लागि असोज १४ गते दिउँसो २ बजे निर्वाचन हुने जानकारी गराएका हुन् ।
सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ को उपनियम १ बमोजिम निर्वाचनको मिति र समय तोकिएको जानकारी गराए ।
यसअघि असोज ५ गते बसेको प्रतिनिधि सभा बैठकले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।
समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेशकुमार मल्ल, रविन्द्रै पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहेका छन् ।
अब असोज १४ गते हुने निर्वाचनबाट समितिले सभापति पाउनेछ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली क्षेत्रमा भएका विपद्का विषयमा समितिले अध्ययन तथा आवश्यक पहल गर्नेछ ।



