काठमाडौं - मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईं लाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ ।
सोमबार साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउलगत्तै प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो ।
स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी गरिएको छ ।
प्रसाईंले केही दिनअघि सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोप छ । रसिक सांसद रचना खतिवडाका छोरा हुन् ।
प्रसाईंले सामाजिक सञ्जालमा ‘छोराको लाससँग सांसद पद साटेको’ भन्दै टिप्पणी गरेको आरोपपछि सांसद खतिवडा प्रतिनिधिसभाको बैठकमै भावुक भएकी थिइन् ।
आफूमाथि र छोराको विषयमा प्रसाईंलगायतले अपमानजनक टिप्पणी गरेको भन्दै खतिवडाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।
सोही उजुरीका आधारमा प्रसाईंलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको हो ।



