काठमाडौं - गृहमन्त्री सुधन गुरुङको सचिवालयका सदस्यहरूसँग आफ्नो सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँकेको नेपालगन्ज घर भई कागेश्वरी मनोहरा बस्दै आएका आशीष मल्ल भनिने धर्मराज रहेका छन् ।
प्रहरीका अनुसार सोधपुछका लागि खटिएको टोलीमाथि गालीगलौज गर्नुका साथै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले मल्लविरुद्ध बाँकेमा विभिन्न ६ वटा मुद्दा विचाराधीन रहेको जनाएको छ । प्रहरीका अनुसार उनको नाममा दूरसञ्चार ऐन, अभद्र व्यवहार, बैंकिङ कसुर र ठगीसम्बन्धी मुद्दा रहेका छन् ।
सीएसआर अभिलेखअनुसार उनीविरुद्ध २०७७ सालदेखि २०८३ सालसम्म विभिन्न मितिमा मुद्दा दर्ता भएका छन् ।
तीमध्ये तीनवटा अभद्र व्यवहार, एक–एकवटा दूरसञ्चार ऐन, बैंकिङ कसुर र ठगीसम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ ।
मल्लमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई दिनको म्याद थप गरेको छ ।
सोही आधारमा प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।



