काठमाडौं - काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१५ स्थित तीनथानामा रोकिराखेको ट्रकमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ, राप्ती गाउँपालिका–१ का सञ्जय घर्तीमगर, सिन्धुली, सुनकोशी गाउँपालिका–९ का पासाङ तामाङ र रामेछापको गोकुलगंगा गाउँपालिका–२ का कपिल खड्का छन् ।

उनीहरु तीनैजना ट्रकका खलासी भएको प्रहरीले जनाएको छ । धादिङ घर जान लागेकी १७ वर्षीया किशोरीलाई ‘सित्तैमा लगिदिने’ भन्दै  ट्रकमा चढाएर बलात्कार गरेको र थानकोट प्रहरीको गस्ती टोलीले किशोरीको उद्धार गरेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले बताए ।

आरोपी तीनैजनाले आफ्नो अपराध स्वीकारेको थानकोट प्रहरी वृत्तका प्रमुख श्रेष्ठले जानकारी दिए । प्रहरीले बलत्कारमा प्रयोग भएको ना३ख ६९४ नम्बरको ट्रक पनि नियन्त्रणमा लिएको छ ।