काठमाडौं - ओपनर तृतराज दासको अर्धशतकीय पारीमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)) मा पोखरा एभेन्जर्सलाई जितका लागि १ सय ४८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको हो।

जनकपुरका लागि ओपनर तृतराजले सर्वाधिक ६१ रन बनाए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। मेहदी हसनको बलमा कुशल भुर्तेलबाट क्याच आउट हुनुअघि उनले ४९ बलमा ६ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए।

एनपीएलमा तृतराजको यो छैटौँ अर्धशतक हो। यसअघि सोमपाल कामी, डेविड मलान, मोइन अली, दीपेन्द्रसिंह ऐरी र लोकेश बमले अर्धशतक प्रहार गरिसकेका छन्।

अर्का ओपनर मोइन अलीले १६ बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए। उनी सकिब अल हसनको बलमा क्याच आउट भए।

जिम्मी निसम ११ रनमा आउट हुँदा कप्तान हरमित सिंह र अनिल शाहले समान ९ तथा सैफ हसनले १ रन बनाए। अविशेक तिवारी २४ रनमा अविजित रहे।

पोखराका लागि सकिब अल हसनले सर्वाधिक ३ विकेट लिए। मोहम्मद सैफुदिन र चमिका करुणारत्नेले समान १ विकेट लिए। मेहदी हसनले १ मेडन राख्दै २४ रन खर्चेर १ विकेट आफ्नो नाममा गरे।

जनकपुरले दिएको लक्ष्य पछ्याउन पोखरा केहीबेरमा जवाफी ब्याटिङमा उत्रिनेछ।