काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको हो ।

जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा १३८ रनमात्रै बनाउन सक्यो ।

कप्तान कुशल भुर्तेलले ३५ रन बनाउँदा विपिन आचार्यले २० तथा विपिन खत्रीले १७ रन बनाए । यस्तै किरण ठगुन्नाले १५ रन जोडे ।

बलिङतर्फ जनकपुरका मोइन अलीले तीन तथा सैफ हसन र हरमीत सिंहले दुई-दुई विकेट लिँदा ललित राजवंशीले र जिमी निशमले एक-एक सफलता हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको जनकपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन जोड्यो । तृत राज दासले अर्धशतकीय इनिङ्स खेले । उनले ६१ रनको योगदान दिए ।

यस्तै, अभिषेक तिवारीले अविजित २४ मोइन अलीले २१ रन, जिमी निशमले ११ जोड्दा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ पोखराका शकिब अल हसनले तीन तथा मेहदी चमिका करुणारत्नेले दुई विकेट लिँदा मेहदी हसन र मोहम्मद सैफुद्दिनले एक एक सफलता हात पारे ।

यसअघिको खेलमा पोखरा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो भने जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित हुँदा दोस्रो खेलमा भने काठमाण्डु गोर्खाजलाई ८ विकेटले हराएको थियो ।