काठमाडौं - सरकारी कार्यालयको दैनिक कार्यसमय भोलि (कात्तिक १६ गते) देखि एक घण्टा घट्ने भएको छ ।
सरकारको निर्णयअनुसार अब तीन महिनासम्म सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ गतेदेखि आगामी माघ १५ गतेसम्म सरकारी कार्यालयको नयाँ समयतालिका लागू हुनेछ । यस अवधिमा सरकारी कार्यालय सातामा पाँच दिन सञ्चालन हुनेछन् ।
हाल सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका छन् ।
हिउँदमा साँझ छिट्टै अँध्यारो हुने भएकाले हरेक वर्ष कार्यालय समय समायोजन गर्ने व्यवस्थाअनुसार यस वर्ष पनि समय घटाउन लागिएको हो ।
गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारले उक्त व्यवस्थालाई निरन्तरता दिँदै आएको छ ।
सरकारले हरेक वर्ष जाडोयाममा कार्यालय सञ्चालनको समय समायोजन गर्दै आएको छ । सोही व्यवस्थाअनुसार यस वर्ष पनि कात्तिक १६ देखि माघ १५ गतेसम्म परिवर्तित समय कायम रहनेछ ।

.gif)


