काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोहबाट अहङ्कारी सरकार ध्वस्त पारेकोमा खुसी व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित खबरदारी सभामा सर्वपक्षीय सरकारको माग गर्दै उनले यस्तो भनेका हुन् । विप्लवले माओवादी जनयुद्ध र नेकपाले गरेको एकीकृत जनक्रान्तिले समेत गर्न नसकेको काम जेनजीले गरेकोमा धन्यवाद समेत दिएका छन् ।

अध्यक्ष विप्लवले भने- ‘हामीले जेनजी युवाहरूलाई धन्यवाद दिनुपर्छ, हाम्रो पार्टीले लडेकै हो तर हाम्ले पार लगाउन सकेका थिएनौं, विभिन्न क्षेत्रबाट लडेका थिए जनताहरू तर जनताले पार लगाउन गाह्रो भएको थियो । सरकारले ठेक्कापट्टा गर्ने, लुट्ने खाने काम गर्‍यो । हामीले पार लगाउन सकेका थिएनौँ ।’

भ्रष्टाचार र बेथिति विरुद्ध आफूहरूले आवाज उठाउँदा तत्कालीन केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले प्रतिबन्ध लगाएको बताए ।उनले थपे- ‘भ्रष्टचारहरूले अटेर गर्दै नसुनेपछि, मुर्खता गर्दैगएपछि, जनतालाई यी केही पनि होइनन् जे गरे पनि हुन्छ भन्ने ठान्न थालेपछि , प्रशासन छ, राज्य छ, डण्डा छ, बन्दुक छ, जेल, कानुन छ भनेर मनपरी गरेपछि जेनजी विस्फोट भयो । जसका कारण अहङ्कारी सरकार ढल्यो।’ उनले शासकको अहंकारले जेनजी विद्रोह विस्फोट भएको बताए ।