काठमाडौं - सरकारले चीनले उपलब्ध गराउने २० लाख अमेरिकी डलर नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार तथा जीवनरक्षाका लागि चीनले उपलब्ध गराउने सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको आगामी मंसिर ६ र ७ गते हुने भारतको दुईदिने राजकीय भ्रमणलाई पनि स्वीकृति दिएको छ । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बैठकका निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।

सरकारले नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको लगत तयार गर्ने निर्णयसमेत गरेको छ । त्यसका लागि देशभर रहेका त्यस्ता जग्गाको नापजाँच गर्न आवश्यक आदेश जारी गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

यसैगरी, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ‘र्‍यापिड क्रेडिट फेसिलिटी’ अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यी हुन् बैठकका ७ निर्णय

– २०८३ मङ्सिर ६ र ७ गते प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने।

– चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २ मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने।

– अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्‍यापिड क्रेडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।

– नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने।

– राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने।

– ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्र्स २०८३ स्वीकृत गर्ने।

– राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने।