काठमाडौं - पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक मर्मत तथा निर्माणको काम गर्न भोलि शनिबारदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार राजमार्गको घोप्टेभिरलगायत क्षेत्रमा सडक निर्माण गर्न बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन रोक्न लागिएको हो।

‘बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म अर्को सूचना नभएसम्मका लागि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द रहनेछ,’ कार्यालयका एक अधिकारीले भने, ‘घोप्टेभिरलगायत क्षेत्रमा सडक मर्मत तथा निर्माणको काम गर्न लागिएको हो।’

उनका अनुसार कति दिनसम्म दैनिक पाँच घण्टा सवारी आवागमन रोक्ने भन्ने टुंगो लागेको छैन।

सडक निर्माणका क्रममा पोखरातर्फबाट आउने सवारीसाधनलाई आँबुखैरेनीमै रोकिनेछ। त्यस्तै, नारायणगढ हुँदै आउने सवारीसाधनलाई जुगेडी र आँपटारीमा रोक्ने व्यवस्था मिलाइएको छ। केही सवारीसाधनलाई रमाइलो डाँडामा समेत रोकिनेछ।

मुग्लिन बजार क्षेत्रमा भने सवारीसाधन नरोकिने ट्राफिक प्रहरीले जनाएको छ।