काठमाडौं - रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेँसीमा स्थानीय बासिन्दाले आफ्नै श्रम र लगानीमा निर्माण गरेको काठे पुल बाढीले बगाएको छ ।

गत शनिबार आएको बाढीले वैकल्पिक रूपमा प्रयोग हुँदै आएको काठे पुल बगाएपछि गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाबीचको आवतजावत पूर्ण रूपमा बन्द भएको छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले पक्की पुल बगाएपछि स्थानीय बासिन्दाले आफ्नै श्रम र खर्चमा काठे पुल निर्माण गरेका थिए । तर, उक्त वैकल्पिक पुलसमेत बाढीले बगाएपछि स्थानीय पुनः आवतजावतको समस्यामा परेका छन् ।

अहिले दुई गाउँपालिकाबीच आवतजावतका लागि अर्को कुनै वैकल्पिक मार्ग छैन । पुल बगेसँगै स्थानीयलाई दैनिक आवतजावत गर्नसमेत कठिनाइ भएको छ ।

पुल नहुँदा दुई गाउँपालिकाबीचको आवतजावत मात्र प्रभावित भएको छैन, दैनिक उपभोग्य वस्तु, खाद्यान्न तथा निर्माण सामग्रीको ढुवानीसमेत ठप्प हुने अवस्था सिर्जना भएको छ ।