काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई १०६ रनको लक्ष्य दिएको छ ।
वर्षाका कारण निकै ढिला गरी सुरु भएको पाँच–पाँच ओभरको खेलमा विराटनगरले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको हो ।
विराटनगरका लागि ओपनर शेहान जयासूर्याले सर्वाधिक ३९ रन बनाए । उनले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । अर्का ओपनर लोकेश बमले २५ रन जोडे भने आन्द्रे रसेलले अविजित २९ रन बनाए ।
विराटनगरले सुरुवातदेखि नै आक्रामक ब्याटिङ गरेको थियो । सुदूरपश्चिमका लागि एनपीएलमा डेब्यु गरेका श्रीलंकाली स्पिनर थरिन्दु रत्नायाकेको पहिलो ओभरमै जयासूर्याले पाँच छक्का प्रहार गरे । उक्त ओभरमा विराटनगरले ३५ रन जोडेको थियो ।
जयासूर्या र लोकेश बमको आक्रामक ब्याटिङमा विराटनगरले आठ बलमै अर्धशतक पूरा गरेको थियो ।
तेस्रो ओभरमा अभिनाश बोहराको बलमा जयासूर्या एलबीडब्लू आउट भए । सुरुमा अम्पायरले उनलाई आउट दिएका थिएनन् । तर, सुदूरपश्चिमले रिभ्यु लिएपछि निर्णय विराटनगरका ब्याटरविरुद्ध गएको थियो ।
सुदूरपश्चिमका लागि दुई ओभर बलिङ गरेका अभिनाश बोहराले २८ रन खर्चेर एक विकेट लिए । अब सुदूरपश्चिमले पाँच ओभरमा १०६ रन बनाउँदै जित निकाल्नुपर्नेछ ।

.gif)


