नेपाल टेलिकमको जीएसएम मोबाइलमा देखिएको समस्या २ घण्टामै समाधान
काठमाडौं - नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको थियो । तर, सो समस्याबारे जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको टेलिकमले जनाएको छ ।
सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखी समस्याको विश्लेषण गर्दै काम अगाडि बढाइएकाले करीब २ घण्टामै सेवा शुरू गर्न सकिएको टेलिकमको भनाई छ ।
सो अवधिमा जीएसएम मोबाइलको २जी, ३जी र ४जी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको भोओएलटीई (भ्वाइस ओभर एलटीई)मा समस्या नआएको र जीएसएम मोबाइलका केही फिचर फोन (साना नन् स्मार्ट फोन)मा समस्या नदेखिएको जानकारी प्राप्त भएको छ । मुख्यतः स्मार्ट फोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।
कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्सका कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहेको टेलिकमले विज्ञप्ती जारी भनेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस