काठमाडौं - सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । 

मल्लको ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको हो । मल्ललाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएपछि अस्पताल भनाए गरिएको थियो । मल्ल लामो समयदेखि निमोनियाबाट पीडित थिए । 

कैलालीका स्थायी बासिन्दा मल्ल संघीय संरचना कार्यान्वयन भएपछि सुदूरपश्चिमको पहिलो प्रदेश प्रमुख बनेका थिए । चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्यसमेत भएका थिए । 

राप्रपाबाट राजनीति गरेका उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचन अगाडि कांग्रेसमा प्रवेश गरेका थिए । त्यसपछि २०७४ सालमा मल्लले सुदूरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी पाएका थिए । मल्लका एक छोरा र एक छोरी छन् ।