काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को महामारीले निम्त्याएको सङ्कटको समयमा राष्ट्रिय ध्वजावाहकका रूपमा नेपाल वायुसेवा निगमले पर्यटक उद्धार, मेडिकल उडान तथा स्वाब सङ्कलन लगायतका कार्यमा आफूलाई केन्द्रित गरेको छ ।

कोरोना नियन्त्रणका क्रममा औपचारिक बन्दाबन्दीको तीन महिना पूरा भइसक्दा निगमले ९० भन्दा बढी यस्ता उडान गरेर सङ्कटमा निगमको आवश्यकता पुष्टि गरेको छ । नेपालभित्रै फसेका विदेशी पर्यटकलाई आन्तरिक उडानमार्फत उद्धार गरेर काठमाडौँसम्म ल्याउने कामदेखि कोभिड–१९ को स्वाब सङ्कलनका लागि मेडिकल उद्धार उडानमा समेत निगमले आफ्नो जिम्मेवारी निर्वाह गरेको थियो । पछिल्लोपटक निगमले विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने उद्धार उडानमा पनि सक्रियता देखाएको छ । निगमका अनुसार २५ देशमा रहेका नेपालीको उद्धार गर्न सहुलियतपूर्ण उडान यसबीचमा भएको छ । त्यति मात्र होइन, देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवालाई पनि आवश्यकता अनुरूप सञ्चालन गरेर निगमले उडान सहजताका लागि काम गर्यो ।

सङ्कटको समयमा भएका केही उडानहरूले निगमलाई भविष्यमा गन्तव्य विस्तारका लागि अवसर थपिदिएको निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरे बताउनुहुन्छ । “यसबीचमा निगमले अस्टे«लियामा गरेको उडानले भविष्यमा त्यहाँ उडान गर्ने निगमको योजनालाई थप सजिलो भएको छ,” उहाँले भन्नुभयो । निगमको जहाजले चैत १९ गते अस्टे«लियाली यात्रुलाई लिएर ब्रिसबेन उडान गरेको थियो । अस्टे«लियाको यो उडान निगम इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै लामो उडान दूरी हो, जुन करिब १२ घण्टाको थियो ।

महामारीले थप चुनौती

सङ्कटमा निगमले उद्धारदेखि मेडिकल सामग्री आपूर्तिका लागि उडान गरे पनि कोभिड–१९ का कारण निगम थप चुनौतीपूर्ण अवस्थामा धकेलिएको छ । कोरोना भाइरसका कारण पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित बनेपछि त्यसको प्रत्यक्ष असर निगमले आफ्ना उडानहरूमा व्यहोर्नुपर्नेछ । यसले निगमको गन्तव्य विस्तार योजनालाई प्रभावित बनाउने नै छ भने सञ्चालन खर्च जुटाउन निगमलाई समस्या पर्ने देखिन्छ ।

त्यति मात्र होइन, दुईवटा न्यारोबडी जहाज र दुईवटा वाइडबडी जहाज खरिदका लागि लिएको करिब ३४ अर्ब रुपियाँ ऋणको नियमित किस्ता तिर्न सक्ने सामथ्र्य निगमको हुने छैन । थप जहाज खरिद गरेर उडान सङ्ख्या बढाउने निगमको योजनामा तत्काल यसले ‘बे्रक’ लगाएको छ । भूमिस्थ सेवा उपलब्ध गराएबापत निगमले गर्ने आम्दानी व्यापक खुम्चिएको छ । यद्यपि परिस्थितिको आँकलन गर्दै त्यसै अनुसार योजना निर्माण गर्दै निगमलाई ‘सर्भाइभ’ गराउने रणनीति नै अहिलेको प्रमुख प्राथमिकता बनेको घिमिरेको भनाइ छ । निगमलाई कम्पनीका रूपमा परिणत गर्ने विषय पनि महामारीले ओझेलमा पारेको छ । 

 गोरखापत्र दैनिकबाट