काठमाडौं - नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न सरकारले ल्याएको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेको छ ।
महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित टोलीले शुक्रबार राष्ट्रपति भवन पुगेर राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएको हो ।
भेटका क्रममा महासंघले अध्यादेशका प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
संसद्लाई छलेर तथा मुख्य सरोकारवाला पक्षसँग पर्याप्त छलफल नगरी अध्यादेशमार्फत कानुन ल्याउनु लोकतान्त्रिक विधि र प्रक्रियाविपरीत भएको महासंघको ठहर छ ।
त्यस्तै, हालै समाचार कक्षमा प्रवेश गरी प्रहरीले पत्रकारमाथि गरेको धरपकडको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाही हुन नसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत प्रेस स्वतन्त्रतामाथि थप अंकुश लगाउन खोजेको आरोप पनि महासंघले लगाएको छ ।
महासंघले अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष जोडदार माग गरेको जनाएको छ ।

.gif)


