काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ३५ रन बनाए । उनले २४ बलमा चार चौका र एक छक्का प्रहार गरे । विनोद भण्डारीले २७ रन जोडे ।
यी दुईले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुआत दिलाएका थिए । उनीहरूको आक्रामक ब्याटिङका कारण सुदूरपश्चिमले पावरप्लेमा ६३ रन बनाएको थियो ।
त्यस्तै, ब्रान्डन म्याकमुलेनले २४, इशान पाण्डेले २३, थरिन्दु रथनायकेले २२, स्कट कुगेलेइनले अविजित १३, आरिफ शेखले ११ र कप्तान दीपेन्द्रसिंह ऐरीले १० रन बनाए ।
कर्णालीका लागि मार्क वाटले दुई विकेट लिए । नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान एक विकेट हात पारे ।

.gif)


