काठमाडौं - सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध परेका उजुरीमाथि संसदीय सुनुवाइ समितिले छलफल सुरु गरेको छ ।
समितिको शुक्रबारको बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूलाई आमन्त्रण गरी उनीहरूसँग छलफल भइरहेको हो ।
सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध कुल १३ वटा उजुरी परेका छन् । उजुरी पर्नेमा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
समितिको कार्यसूचीअनुसार उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूलाई समितिमा आमन्त्रण गरी संसदीय सुनुवाइ गर्ने कार्यक्रम रहेको छ ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

.gif)


