काठमाडौं - सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्कीले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।

कार्कीले बिहीबार पेस गरेको रिट शुक्रबार दर्ता भएको हो ।

सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्दै एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि उक्त निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेका हुन् ।

दर्ता भएको रिटमा सुनुवाइका लागि कात्तिक ३० गते पेसी तोकिएको छ । कार्कीमाथि विभिन्न आरोपहरु लागेका छन् ।

गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि नियुक्त भएका निर्वाचन प्रहरीको पोशाक खरिद र पत्रकार पक्राउ प्रकरणमा उनी विवादमा तानिएका थिए ।

साथै प्रधानमन्त्री कार्यालयले अनुसन्धानमा रहेका गोप्य सूचना लिक भएको विषयमा छानबिन गर्न भनेकोमा त्यसैलाई आधार बनाई उनले आफ्ना विरोधी पत्रकारमाथि धरपकड गरेका थिए ।