काभ्रेमा टिपरले आमाछोरीको ज्यान लिएपछि तनाव
काभ्रे - टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि सोमवार साँझ पनौती तनावग्रस्त बन्यो । त्यो अवस्था अझै साम्य हुन सकेको छैन ।
बनेपाबाट पनौतीतर्फ गइरहेको बा५ख ५४८० नम्बरको टिपरले पनौती बसपार्कमा ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको मृत्यु भएको हो ।
स्मारिकाले बाटो काट्ने क्रममा आमाले छोरीलाई बचाउन खोज्दा टिपरले किचेको थियो। स्मारिकाको घटनास्थलमै र जुनीमायाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
चालकको लापरबाहीका कारण आमाछोरीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिए । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सातजना घाइते भए । स्थानीयले घटनाको विरोधमा नाराबाजी गरेर सडक अवरुद्ध गरे । उनीहरूले पनौतीस्थित प्रहरी बिट नै जलाइदिएका छन्।
तीन सर्वसाधारण र चार प्रहरी घाइते भएका हुन् । झडप नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। घाइते सबैको सिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। घटनास्थल प्रहरी बिट नजिकै छ।
टिपर र चालक नवराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। साँझ ९ बजेपछि साम्य भएको पनौती मंगलबार विहानै फेरि अशान्त भएको छ ।
फेसबुक पेज Like गर्नुहोस