काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा आउने अवरोध नेपालको नियन्त्रणभन्दा बाहिर रहेको बताएका छन्।
सोमबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री साहले बाह्य परिस्थितिका कारण आपूर्ति प्रणाली प्रभावित हुन सक्ने भन्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।
मन्त्री साहले रुस–युक्रेन तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य र आपूर्तिमा अस्थिरता देखिएको बताए।
उनले अन्तर्राष्ट्रिय भू–राजनीतिक तनावले नेपालजस्तो आयातमा निर्भर मुलुकमा प्रत्यक्ष असर पारिरहेको भन्दै परम्परागत इन्धनको विकल्प खोज्ने बेला आएको जिकिर गरे।
‘ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा आउने अवरोध हाम्रो नियन्त्रणमा हुँदैन। त्यसैले बाह्य निर्भरता मात्र बढाउनेभन्दा स्वदेशमै वैकल्पिक ऊर्जा र खाना पकाउने प्रविधिको विकासमा जोड दिनुपर्छ,’ उनले भने।
ब्रिकेट, विद्युत् तथा अन्य स्वदेशी ऊर्जाको प्रयोग बढाउन सकिने उल्लेख गर्दै साहले आयातित इन्धनमा निर्भरता घटाउन दीर्घकालीन नीति आवश्यक रहेको बताए।
त्यस्तै, कृषि क्षेत्रमा पनि आत्मनिर्भरता बढाउनुपर्नेमा जोड दिँदै उनले पहाडी क्षेत्रमा उत्पादन हुने रैथाने बालीको प्रवर्द्धन गर्नुपर्ने बताए। आयातित चामलमा निर्भरता घटाउँदै मकै, फापर, कोदो, सिमी लगायतका स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।
‘जनतालाई “के मात्रै गर्न सकिन्छ” भन्ने सोचबाट माथि उठेर “स्वदेशी उत्पादन र ऊर्जा प्रयोगले नै दिगो समाधान दिन्छ” भन्ने भाष्य निर्माण गर्नुपर्छ,’ उनले भने।
सांसदहरूले उठाएका ग्यास आपूर्तिसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री साहले बदलिँदो भू–राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर बाह्य वस्तुमाथिको निर्भरता घटाउँदै स्वदेशी स्रोत र उत्पादनमा जोड दिनुपर्ने बताए।
आपूर्ति व्यवस्था सहज बनाउन सञ्चारमाध्यमले समेत नागरिकलाई स्वदेशी स्रोत तथा उत्पादनको प्रयोगतर्फ उत्प्रेरित गर्नुपर्ने उनको भनाइ थियो।

.gif)


