रुपन्देही - लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गायिका तथा बौद्ध भिक्षु आनी छोइङ डोल्माले आफ्नो आलोचना गर्नेहरूलाई मासुभातमा बिकेको आरोप लगाएपछि विवाद झन उग्र बनेको छ । 

सरकारले उनलाई असोज ३० गते कोषको उपाध्यक्षमा नियुक्त गरेसँगै चौतर्फी रुपमा विरोध भएको  थियो । आनीमाथि लागेको सम्पत्ति शुद्धिकरण तथा नेपाली नागरिकताको विषय टुंगो नलागेको विवादित व्यक्तिलाई उपाध्यक्ष बनाएको भन्दै विरोध भइरहेको छ ।

लुम्बिनी बचाउ महाअभियानले निरन्तर रुपमा विरोध गर्दै आएको छ । आनीको नियुक्तिको पक्ष र विपक्षमा भिक्षुहरुको टीम नै लागेका बेला उनले आफ्नो आलोचना गर्नेहरूलाई मासुभातमा बिकेको आरोप लगाएपछि विवाद झन चर्केको छ । 

आनीको नियुक्तिको विरोध गर्दै आएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ तथा अर्का स्थानीय बाजिउद्दिन मुसलमान गयराती पक्राउ परेसँगै लुम्बिनी क्षेत्रमा विरोध अझै बढेको छ । 

लुम्बिनीमा स्थानीयले पनि यसको विरोध गरेका छन् । तर आफ्नो नियुक्तिको विरोध गर्नेहरूलाई सोमबार आनीले भिडियो सन्देशमार्फत मासुभातमा चाडपर्वमा रमाएकाहरूले गरेको विरोधको कुनै अर्थ नभएको र यसको छिनोफानो पहिले नै भइसकेको दाबी गरेकी छन् ।


आनीले कमजोरी स्वीकार गर्नुको साटो उल्टै आलोचना गर्नेहरूलाई गम्भीर आरोप लगाएपछि सामाजिक सञ्जालहरुमा उनको नियुक्ति अस्वीकार गर्न आग्रह गरिएको छ ।