काठमाडौं - इजरायलमा आज आम निर्वाचनका लागि मतदान हुँदैछ। हमास र इरानलगायत क्षेत्रीय शक्तिसँग तीन वर्षदेखि युद्धमा रहेको इजरायलमा यस निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ।

निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सत्तारूढ गठबन्धन र विपक्षी समूहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। मत सर्वेक्षणहरूले दुवै पक्षबीचको मतान्तर साँघुरो देखाएका छन्।

यस निर्वाचनमा पहिलोपटक मतदान गर्ने करिब पाँच लाख मतदाता सहभागी हुँदैछन्। उनीहरूको मत निर्णायक हुन सक्ने आकलन गरिएको छ। नयाँ मतदाताको झुकाव दक्षिणपन्थी समूह र नेतान्याहुतर्फ बढी हुन सक्ने अनुमानसमेत गरिएको छ।

इजरायलमा कुनै एक दलले स्पष्ट बहुमत प्राप्त गर्ने सम्भावना कम रहेकाले सरकार गठनका लागि गठबन्धन निर्माण महत्त्वपूर्ण हुने देखिएको छ। इजरायली संसद् नेसेटका १२० सिटका लागि निर्वाचन हुँदैछ। सरकार गठन गर्न कम्तीमा ६१ सिट आवश्यक पर्छ।

निर्वाचनमा ७३ लाख ३१ हजारभन्दा बढी मतदाता मतदानका लागि योग्य रहेको जनाइएको छ। निर्वाचनको औपचारिक परिणाम आगामी नोभेम्बर ४ मा सार्वजनिक गरिनेछ।