काठमाडौं - साउदी अरेबियामा पछिल्लो समय सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि नेपाली राजदूतावासले साउदीमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्क रहन अपील गरेको छ । 

राजदूतावासले अनावश्यक रुपमा घरबाहिर ननिस्कन निर्देशन समेत  दिएको छ ।

दूतावासले सूचना जारी गर्दै सुरक्षा चेतावनी जारी भएका क्षेत्र वा समयमा विशेष सावधानी अपनाउन र आधिकारिक निकायका निर्देशनहरु मात्र पालना गर्न आग्रह गरेको छ । सामाजिक सञ्जालमा भ्रामक, अपुष्ट वा उत्तेजक फोटो र भिडियोहरू पोस्ट तथा सेयर नगर्नसमेत भनेको छ ।

हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीहरुलाई उडान तालिका परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट निश्चित गरेर मात्र यात्रामा निस्कन भनेको छ ।

कुनै पनि समस्या वा आपत्कालीन अवस्था आएमा रियादस्थित नेपाली राजदूतावास र जेद्दास्थित महावाणिज्यदूतावासका फोन नम्बर तथा इमेलमार्फत सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।


साउदीमा करिब ४ लाख नेपाली श्रमिकले काम गरिरहेका छन् भने, प्रत्येक वर्ष नेपालबाट रोजगारीको लागि ९० हजार जाने गरेका छन् ।