काठमाडौं - विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार पारेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो ।

अहिले सिंहदरबारमा सांसदहरूको हस्ताक्षर संकलन गर्ने काम भइरहेको छ। रिट तयार भैसकेकोले आजै रिट दायर गर्ने एक नेताले जानकारी दिए । 

विपक्षी दलहरु कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्न लागेका हुन् । 

आइतबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कानुन व्यवसायीहरूसँग छलफल गरेपछि सो निर्णय गरेको हो ।