चलचित्र छायांकनको क्रममा शाहरुख खान घाइते
काठमाडौं - बलिउड अभिनेता शाहरुख खानको आफ्नो नयाँ चलचित्र ‘‘किङ’’ को छायांकनको क्रममा गम्भीर घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार शाहरुख खान मुम्बईको गोल्डेन टोब्याको स्टुडियोमा चलचित्र किङको छायांकन गरिरहेका थिए । छायांकनको क्रममा तीव्र एक्सन दृश्यमा प्रस्तुति दिँदै गर्दा लडेर उनी घाइते भएका हुन् । उनको मांसपेशीमा चोट लागेको चिकित्सकहरूले जनाएको छ ।
चिकित्सकहरूले शाहरुखको चोटलाई ध्यानमा राख्दै केही समय पूर्ण आराम गर्न सल्लाह दिएका छन् । शाहरुख खान आफ्नो स्वास्थ्यमा कुनै जोखिम लिन नचाहने भएकाले उनी मासपेसीको थप उपचारको लागि अमेरिका जान लागेको पनि चिकित्सकले जनाएका छन् ।
चोट गहिरो भएका कारण शाहरुखलाई पूर्ण निको भएर एक्सन दृश्यको छायांकनमा फर्कन कम्तीमा एक महिना लाग्ने चिकित्सकको कथन छ । रिपोर्टका अनुसार, शाहरुख खानको स्वास्थ्यलाई ध्यानमा राख्दै चलचित्र किङको छायांकन शनिवारबाटै केही समयको लागि स्थगित गरिएको छ । अब यो चलचित्रको बाँकी छायांकन सेप्टेम्बर वा अक्टोबरमा गरिने भएको छ । यस विषयमा शाहरुख खानले अहिलेसम्म कुनै आधिकारिक बयान दिएका छैनन् ।
पहिलो पटक शाहरुखले आफ्नी छोरी सुहाना खानलाई यो चलचित्रमा नायिकाको रूपमा आफूसँग उतार्दै छन् । चलचित्रमा शाहरुख र सुहाना बाउ छोरीको भूमिकामा रहेको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस