काठमाडौं - जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले जापानसामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
निसिनमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा चार विकेट गुमाउँदै १४९ रन बनाएको हो।
नेपालको सुरुवात भने कमजोर रह्यो। कुशल भुर्तेल १२ बलमा ४ रन बनाएर दोस्रो ओभरको अन्तिम बलमा आउट भए। त्यसपछि आसिफ शेखले १५ बलमा २१ रन बनाए । आसिफ आउट हुँदा नेपाल ६२ रनमा थियो।
त्यसपछि कुशल मल्ल ५ बलमा २ रन तथा गुल्सन झा ६ बलमा २ रन बनाएर आउट भए। नेपाल ९.६ ओभरमा ८४ रन जोड्दा चार विकेट गुमाइसकेको थियो।
तर त्यसपछि सन्दीप जोरा र लोकेश बमले आक्रामक ब्याटिङ गर्दै नेपालको इनिङ्स सम्हाले। जोराले ३२ बलमा पाँच चौका र तीन छक्काको मद्दतले अविजित ५७ रन बनाए।
लोकेशले अझ आक्रामक शैलीमा २२ बलमा एक चौका र छ छक्कासहित अविजित ५२ रन जोडे।
यी दुईले पाँचौँ विकेटका लागि अविजित साझेदारी गर्दै अन्तिम पाँच ओभरमा ६५ रन जोडेपछि नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको हो।
नेपालले अतिरिक्तबाट ११ रन पाएको थियो। जापानका रियो साकुरानो–थोमस, जेक कुसुडा–नेर्न र डेक्लान सुजुकीले एक–एक विकेट लिए।
अब जापानले १५ ओभरमा १५० रनको लक्ष्य पछ्याउनेछ । नेपालले यसअघि समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो।




