काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् ।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा प्राप्त गर्दै उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।

रायमाझीलाई रिहा गर्न काठमाडौं जिल्ला अदालतले तिहारअघि नै डिल्लीबजार कारागारलाई पत्राचार गरेको थियो । उनको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट हुने गरी संशोधित कैदीपुर्जी पठाएको थियो ।

डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले पनि अदालतबाट तिहारअघि नै रिहा गर्न पत्र प्राप्त भएको पुष्टि गरेका छन् । उनका अनुसार संशोधित कैदीपुर्जीअनुसार बिहीबार रायमाझीको कैद अवधि पूरा हुने भएकाले रिहा गरिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए ।