काठमाडौं ,भैरहवा  - बुद्ध जन्मस्थल लुम्बिनीमा लामो समयदेखि थन्केर बसेका विद्युतीय बस आजबाट सुचारु भएकाे छ । बिहीबार लुम्बिनीमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवेधकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले विद्युतीय बसको शुभारम्भ गरेका हुन् ।

लुम्बिनी क्षेत्रमा अत्यधिक भएको प्रदूषण केही हदसम्म रोक्न भनी एडीबीले लुम्विनीमा सञ्चालन गर्न तीन वर्ष अगाडि पाँचवटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी कार लुम्विनी बिकास कोषलाई अनुदानमा दिएको थियो । दशै तिहारलाई लक्षित गर्दै बुद्ध सर्किटकाे पाँच रुट बस परीक्षणकालका लागि सुचारु गरिएकाे हाे । 

पर्यटन नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयले विद्युतीय सवारीसाधन सञ्चालन गर्न १९ जेठमा कार्यविधि बनाउने निर्णय गरेसँगै कोषाध्यक्ष ढुण्डीराज भटराई(सिद्धिचरण)को संयोजकत्वमा बोर्ड सदस्यहरू विश्वराज पौडेल र राजेश शाक्य सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन भएकाे थियो । कार्यदलले गाडीको अवस्था, रुट, चार्जिङ स्टेसनलगायतका विषयमा प्रतिवेदन र कार्यविधिकाे खाका बुझाएपछि बस भने परीक्षण कालका लागि सुचारु भएकाे छ । केही ट्याक्सी भने विकास काेषले स्वयं प्रयाेग गरिरहेकाे छ ।

बस सञ्चालनका लागि चाैतर्फी दबाब हुन थालेपछि गृहमन्त्री बालकृष्ण खाँणले विश्व पर्यटन दिवसका दिन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र लुम्बिनी विकास कोषलाई दसैंअघि निर्देशन दिएका थिए । कार्यदलले पनि दसैंअघि सञ्चालन गर्ने तयारी गरेकाे थियाे ।

बुधबार रुपन्देहीका प्रजिअ पाण्डेको अध्यक्षता लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका संघसंस्था प्रतिनिधिहरूको बैठकले कार्यविधि नहुँदासम्मका लागि र दसै‌तिहारलाई लक्षित गर्दै चालक र सहचालककाे व्यवस्थापन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपालले एक/एक गाडीको जिम्मेवारी लिएर सञ्चालनमा ल्याइएको हाे ।

पाँचवटा बसमध्ये एउटा बस बुटवल-भैरहवा-बेलहिया–एयरपोर्ट हुँदै लुम्बिनी, दोस्रो बस बेलहिया-भैरहवा-एयरपोर्ट हँदै लुम्बिनी, तेस्रो बस नवलपरासी-रामग्राम-भैरहवा-बेलहिया एयरपोर्ट हुँदै लुम्बिनी, चौंथो बस कपिलवस्तु-तिलौराकोटबाट लुम्बिनी र पाँचौँ बस लुम्बिनी वरिपरि सञ्चालन हुने रुट तय गरिएको विकास काेषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।