धनगढी - दसैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय कैलालीले विशेष सुरक्षा योजना लागू गरेको छ।
चाडपर्वका बेला बढ्ने यात्रु आवागमन, बजारको भीडभाड, आर्थिक कारोबार, बैंक तथा वित्तीय संस्था, धार्मिक–सांस्कृतिक गतिविधि र सीमा क्षेत्रमा हुने आवागमनलाई लक्षित गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको हो ।
सुरक्षा योजनाअन्तर्गत कैलालीमा १ हजार १४६ जना प्रहरी कर्मचारी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जोखिम र सुरक्षा संवेदनशीलताका आधारमा प्रहरी परिचालन गरिने तथा आवश्यकता अनुसार मोबाइल र पैदल गस्ती, सादा पोशाकका प्रहरी, क्विक रेस्पोन्स टिम (क्यूआरटी), स्ट्राइकिङ र रिजर्भ टोलीसमेत परिचालन गरिनेछ।
चाडपर्वमा बजार, मुख्य सडक, सार्वजनिक स्थल, बैंक तथा वित्तीय संस्था, व्यापारिक क्षेत्र र बसपार्कलगायत भीडभाड हुने स्थानमा नियमित तथा आकस्मिक गस्ती बढाइने प्रहरीले जनाएको छ।
आपराधिक गतिविधिबारे सूचना संकलन र विश्लेषण गरी आवश्यकताअनुसार तत्काल प्रहरी परिचालन गरिनेछ।
भारतसँग जोडिएका सीमा क्षेत्रमा समेत निगरानी बढाइने भएको छ। चोरी, तस्करी, लागुऔषध तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि नियमित र आकस्मिक चेकजाँच गरिने कैलाली प्रहरीले जनाएको छ ।
यसैगरी, दसैँ–तिहारमा घर फर्किने तथा बाहिर जाने यात्रुको सहजता र सुरक्षाका लागि कैलालीका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराइनेछ भने हराएका वा छुटेका बालबालिका तथा अन्य व्यक्तिको खोज तथा उद्धारमा समेत समन्वय गरिनेछ।
अत्यधिक सवारी चाप र सडक दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीसँगको समन्वयमा सवारी जाँच र सडक सुरक्षा व्यवस्था पनि कडा बनाइने भएको छ।
सवारी साधनको अवस्था, चालकले मादक पदार्थ वा लागुऔषध सेवन गरे/नगरेको तथा तीव्र गतिलगायतका विषयमा विशेष निगरानी गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

.gif)


