काठमाडौं - म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाएको आरोपमा पक्राउ परेका ९ जनामध्ये एक जनालाई पूर्पक्षको लागि थुनामा पठाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार जिल्ला अदालत काठमाडौंले गायक ग्याल्जेन दोर्जे तामाङलाई थुनामा पठाउन निर्णय गरेको हो । बाँकी ८ जनालाई भने धरौटीमा रिहा गर्न निर्देशन दिइएको छ ।

जातीय द्वन्द्व भड्काउने किसिमको ‘देशद्रोही’ बोलको गीतमा राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश भएको थियो । मकवानपुर सल्लेनीस्थित विष्णु आधारभूत विद्यालयको प्राङ्गणमा सुटिङ भएको उक्त गीतको भिडियो ‘मंगोल हप अफिसियल’ नाम युट्युब च्यानलबाट अपलोड भएको थियो । सामाजिक सञ्जालमा चर्को विरोध भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।