काठमाडौं - डा. गोविन्द केसीको स्वास्थ्य क्षेत्र सुधारको अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई झापाको प्रस्तावित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंंले आक्रमण गर्ने धम्की दिएका छन्।

प्रसाईंले फोन गरेर आक्रमण गर्ने धम्की दिएको डा. केसीका सहयोगी एवं सोलिडारिटी फर डा.केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले बताए। उनले ‘तँलाई भेटें भने तेरो नि तीन इन्ची सर्नेगरी हान्दिन्छु’ भनेर धम्क्याएको डा. क्षेत्रीले बताए। प्रसाईंले अपशब्द पनि प्रयोग गरेको जनाइएको छ। 

काठमाडौं विश्वविद्यालयले बीएन्डसी कलेजलाई सम्बन्धन दिने प्रयास गरेपछि डा. केसीको अभियानका तर्फबाट प्रेस विज्ञप्ति जारी गरिएको थियो। त्यस लगत्तै प्रसाईंले सुवेदीलाई फोन गरेर धम्क्याएका हुन्। 

सुवेदीलाई धम्क्याएको घटनाको सोलिडारिटी फर डा.केसी अलायन्सले विरोध जनाएको छ। कोभिड–१९ संक्रमण भएकाले सुवेदी आइसोलेसनमा रहेका छन्। उनी निको भए लगत्तै प्रसाईंविरुद्ध उजुरी दिने डा. क्षेत्रीले बताए।