अन्ततः अध्यादेशबाटै पूर्ण आकारको बजेट, निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं - आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज सार्वजनिक हुँदैछ ।
प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा सरकारले शनिबार अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बजेट सार्वजनिक गर्ने छन् ।
अर्थ मन्त्रालयकाका अनुसार १६ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी छ । प्रतिनिधिसभा विघटन भएकाले यसपपटक सरकारले ‘नीति तथा कार्यक्रम’ भने ल्याउन सकेन । संविधानअनुसार नयाँ बजेट सार्वजनिक हुनुअघि कम्तीमा १५ दिनअगाडि ‘प्रिबजेट’बारे छलफल हुनुपर्ने थियो । सोही छलफलपछि राष्ट्रपतिले ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्नुपर्ने प्रावधान थियो । तर, सरकारले ‘प्रिबजेट’ छलफलै नगरी पुनः संसद् विघटन भएसँगै अध्यादेशमार्फत नयाँ बजेट ल्याउन लागेको हो ।
त्यसका लागि बजेटका सबै दस्ताबेजलाई शनिबार बिहान मन्त्रिपरिषद् बैठकमा पेस गरिने र मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि बजेट भाषण गर्ने तयारी छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठकसमेत बोलाइसकेका छन् ।
हरेक वर्षको जेठ १५ मा बजेट सार्वजनिक गरिन्छ, तर प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा जेठ १५ मै बाध्यकारी नभएको भन्दै अध्यादेशबाट बजेट नल्याउन सरकारलाई चौतर्फी दबाब छ । त्यसलाई बेवास्ता गर्दै सरकारले अध्यादेशबाट भए पनि पूर्ण आकारकै बजेट ल्याउने तयारी गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस