काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवजेशन आह्वान गरेसँगै नेकपाभित्र अब सभामुख कसलाई बनाउने भन्ने बहस शुरू भएको छ ।

सभामुख निर्वाचनको विषयलाई अधिवेशनको पहिलो कार्यसूची बनाउने तयारीसहित भावी सभामुखबारे  छलफल शुरू भएको हो । आउँदो पुस  ४ गते हिउँदे अधिवेशन शुरू हुँदै छ । 

शक्ति सन्तुलन मिलाउने क्रममा दुई वर्षअघि सभामुख तत्कालीन माओवादीको भागमा पारिएको थियो ।त्यसैले अहिले पनि सभामुख पद आफूहरूले नै पाउनुपर्ने पक्षमा पूर्वमाओवादी नेता छन् भने पूर्व एमालेहरू पार्टी एकीकरण भइसकेपछि पुरानो भागबन्डामा अल्झिन नहुने तर्क गरिरहेका छन् । 

पूर्व एमाले वृत्तमा तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सभामुखको प्रबल दावेदारका रूपमा हेरिएको छ भने उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुख पदमा आफ्नो स्वभाविक दावी रहने बताउँदै आएकी छन्  ।

पूर्वमाओवादीमा भने स्थायी समिति सदस्य अग्नि सापकोटालाई भावी सभामुखका रूपमा हेर्नेहरूको पंक्ति ठूलो छ । सपकोटालाई सभामुख बनाउन अध्यक्ष पुष्पकमल दाहाल पनि सकारात्मक देखिएका छन् ।