भारतीय सहयोगमा नेपालमा सञ्चालित आयोजनाको कार्यान्वयन सफल
काठमाडौं - भारतीय सहयोगमा नेपालमा सञ्चालित आयोजनाको कार्यान्वयन सफल रहेको निष्कर्ष नेपाल र भारत संयुक्त निरीक्षण संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिजम) बैठकले निकालेको छ ।
भारतीय सहयोग द्विपक्षीय सहकार्यमा बनेका विकास आयोजनाको समीक्षा गर्दै ती आयोजना नेपालमा सफल कार्यान्वयनमा रहेको निष्कर्ष आइतबारको संयुक्त बैठकले निकालेको हो । सोमबार भर्चुअल रूपमा बसेको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भारतका तर्फबाट नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले नेतृत्व गरेका थिए।
बैठकले नेपाल–भारतबीच भारतीय सहयोगमा निर्माण भएका र निर्माणाधीन आयोजनाको कार्यान्वयनको गहन समीक्षा गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । “नेपालमा कार्यान्वयनमा रहेका धेरै आयोजना सहज रूपमा अगाडि बढेको पाइयो, कुनैमा सानातिना अवरोध छ भने त्यसलाई हटाएर अगाडि बढ्ने समहति भएको छ,” पौडेलले स्पष्ट पारे।
बैठकमा नेपाल–भारत द्विपक्षीय सहयोगअन्तर्गत तराई सडक, सीमापार रेलमार्ग, अरुण तेस्रो जलविद्युत् परियोजना, पेट्रोलियम पदार्थ पाइपलाइन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, भूकम्पपश्चात् नेपाल–भारत द्विपक्षीय सहयोगअन्तर्गत चलिरहेका आयोजनाको कार्यान्वयनको अवस्था बारेमा छलफल भएको थियो । पुनर्निर्माण, सिँंचाइ, विद्युत् र प्रसारण लाइन, नेपाल पुलिस एकेडेमीको निर्माण, एकीकृत चेकपोस्ट, रामायण सर्किट, महाकाली नदीमा मोटरेबल पुल, कृषि र सांस्कृतिक सम्पदा लगायतका कार्यक्रमका बारेमा समीक्षा गरिएको थियो ।
छलफलका क्रममा नेपाल–भारत दुवै पक्षले निर्माणाधीन द्विपक्षीय परियोजनाको छिटो कार्यान्वयनको आवश्यकतालाई जोड दिएका थिए । यस सम्बन्धमा कार्यान्वयनको क्रममा आएका समस्या र अवरोधलाई समयमै सम्बोधन गर्न आवश्यक कदम चाल्न दुवै पक्ष सहमत भएको जनाइएको छ ।
द्विपक्षीय आयोजनाको कार्यान्वयनको निरीक्षण गर्न र समयमै सम्पन्न गर्न आवश्यक कदम चाल्न नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्नु भएपछि नेपाल–भारत निरीक्षण संयन्त्र स्थापना भएको थियो । यस बैठकमा चालूू आयोजनाको कार्यान्वयनका सम्बन्धमा छलफल हुने गर्छ । संयन्त्रको बैठक वर्षको दुई पटक बस्ने गर्छ । जस अनुसार संयन्त्रको नवाँ बैठक पारस्परिक सहमतिमा तय भएको मितिमा हुने मन्त्रालयले जनाएको छ ।
सन् १९९० को उत्तराद्र्धदेखि नेपाल र भारतबीच जनस्तरको विकासका लागि आर्थिक तथा विकासको साझेदारी केन्द्रित हुन थालेको हो । जस अनुसार साना विकासका परियोजना र ठूला विकासका परियोजनामा विभाजित गरेर नेपालको विकासको साझेदार भारत बन्दै आएको छ । विदेशी विकास साझेदारका रूपमा भारत नेपालको पहिलो साझेदार रहँदै आएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीलाई पहिलो प्राथमिकता भन्ने नीति अङ्गीकार गर्नु भएसँगै नेपालको विकासमा नयाँ विकासको साझेदारी उच्च दिशामा अग्रसर बनेको हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीचको सौहार्दता बढ्दै गर्दा सीमापार कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा, पारवहन, कृषि तथा सुरक्षा क्षेत्रमा भारतले थप सहयोग उपलब्ध गराउँदै आएको छ ।
नेपाल र भारतबीचको पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन भारतको मोतीहारीबाट नेपालको अमलेखगञ्जसम्म निर्माण सम्पन्न भयो । हुलाकी सडक, वीरगञ्ज र विराटनगरमा सुरक्षा चेकपोस्टको निर्माण भयो ।
जनकपुर–जयनगर रेल्वे परियोजना सम्पन्न हुँदै गर्दा बर्दिवाससम्म थप विस्तारको काम भयो । अर्को विराटनगर जोगवनी क्रस बोर्डर रेल्वे परियोजनामा काम भइरहेको छ । पछिल्लो समय रक्सौल–काठमाडौँ रेल्वे परियोजनासँगै नेपालको समुद्रमा पहुँच पु¥याउन भारतसँगको थप छलफल चलिरहेको छ ।
गोरखापत्र दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस