प्रदर्शनकारीबाट गोली चलेपछि पनौतीमा कर्फ्यु
काभ्रेपलाञ्चोक - सोमबार पनौती नगरपालिका-५ मानेश्वरी बसपार्कमा टिपरले ठक्कर दिँदा आमा छोरीको मृत्यु भएपछि आक्रोशित भिडलाई नियन्त्रण गर्न पनौतीमा अनिश्चितकालीन कर्फ्यु लागेको छ ।
बिहान नौ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्युपछि मृतकका आफन्तले प्रदर्शन गरी ढुगांमुढा गरेका थिए । सो क्रममा प्रहरीले २ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो भने प्रदर्शनकारीबाट गोली चलेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
भिडलाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी हबलदार दिलीप बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गोलीको छर्रा लागेर केही प्रदर्शनकारी समेत घाइते भएको प्रहरीले जनाएको छ । पदर्शनकारीले राति अबेरसम्म प्रदर्शन गरेका थिए । उनीहरुले आज बिहान सबेरै बाट पुन प्रदर्शन गरेपछि प्रशासनले बाध्य भएर कर्फ्यु लगाउन परेको जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फेसबुक पेज Like गर्नुहोस