काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले समयमै चुनाव गराई युवाशक्तिलाई सत्ता सुम्पिन तयार रहेको बताएकी छिन्।​

ज्यापु संस्कृति विकास कोषको आयोजनामा आज काठमाडौँमा सम्पन्न २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन्।

उनले भनिन्- ‘भदौ २३ र २४ को जेनजी आन्दोलनले देखाएका भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी, गास, बास, कपास सुनिश्चितता जस्ता मागहरुलाई पूरा गर्न सबैले कटिबद्ध भएर आफ्नो भूमिका निभाउन आवश्यक छ। आगामी फागुन २१ मा आम निर्वाचन सम्पन्न गराएर मुलुकलाई तीव्र विकासको मार्गमा अघि बढाउनु हाम्रो दायित्व हो ।’

उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार तयारीमा जुटेको पनि स्पष्ट पारिन्। उनले जेनजी आन्दोलनले उठाएका माग सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि बताइन्।

जेनजी आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको ग्यारेन्टी माग गरेको उल्लेख गर्दै उनले ती माग पूरा सबै कटिबद्ध हुनुपर्नेमा जोड दिइन्।