काठमाडौं - प्रतिनिधिसभाले अब चाँडै सभामुख पाउने भएको छ । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच भएको सहमती अनुुसार अबको एक हप्तापछि प्रतिनिधिसभाले सभामुख पाउने भएको हो ।

सभामुख चयन प्रक्रिया सुरु गर्न कार्यव्यवस्था परामर्श समितिको अर्को बैठक पुस ११ गते दिउँसो बस्ने भएको छ । यो बीचमा क्रिसमस पर्ने र सभामुख चयन प्रक्रिया सुरु गर्न निर्वाचन समिति बनाउनु पर्ने भएकाले ११ गतेलाई बैठक सारिएको हो। त्यही बैठकबाट सभामुख चयन प्रक्रिया सुरु हुने कार्यव्यवस्था परामर्श समितिका सदस्यले बताएका छन् ।

परामर्श समितिको बैठक अघि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिन लगाउने र त्यसपछि सभामुख निर्वाचन प्रक्रिया सुरु हुने नेकपा निकट सदस्यले बताएका छन् । सत्तारुढ दलले तुम्बाहाम्फेलाई राजीनामा गर्न भनिसकेको बताइँदैछ । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सं‌सदको अर्को बैठक पुस ११ गते दिउँसो १ बजे बस्ने तय गरेको छ ।

सभामुख चयन गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको अध्यक्षतामा निर्वाचन समिति बनाउने संसद नियमावलीमा उल्लेख छ। संविधानमा एउटै पार्टी र एउटै लिङ्गको सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था छ। नेकपाले सभामुख राखेर उपसभामुख अर्कै दललाई दिने तयारी गरिरहेको बताइँदै छ ।

संसद सचिवालयकी एक कर्मचारीले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको आरोप लगाएपछि उन पदबाट राजीनामा दिएका थिए। महरा अहिले उनी पुर्पक्षका लागि कारागारमा छन् ।