काठमाडौं - पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा छुटेका छन् ।

आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिइएका जबरालाई प्रहरीले केही घण्टापछि परिवारको जिम्मा लगाएर घर पठाएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार जबरालाई परिवारको जिम्मा लगाएर घर पठाइएको हो ।

आइतबार बिहान करिब ३ बजे जबरा र उनका परिवारका सदस्यहरू सुतिरहेका बेला प्रहरी उनको निवास पुगेको थियो । प्रहरीले सुरक्षा थ्रेट रहेको भन्दै उनलाई नियन्त्रणमा लिएको थियो ।

तर, जबरालाई नियन्त्रणमा लिनुअघि पक्राउ पुर्जी जारी गरिएको थिएन । उनलाई किन नियन्त्रणमा लिइयो भन्ने विषयमा प्रहरीले स्पष्ट कारणसमेत सार्वजनिक गरेको छैन । चोलेन्द्रशम्शेरलाई प्रहरीले घरमै सुरक्षा दिने जनाएको छ।