काठमाडौं - देशका विभिन्न भागमा भइरहेको भारी वर्षा आज रातिदेखि क्रमशः घट्दै जाने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबारदेखि भने देशभरको मौसममा उल्लेख्य सुधार आउनेछ ।

भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण पछिल्ला दिनमा नेपालका विभिन्न भूभागमा भारी वर्षा भएको विभागले जनाएको छ ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशका मकवानपुर र चितवन, गण्डकी प्रदेशका म्याग्दी, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्व तथा लुम्बिनी प्रदेशका पाल्पा र नवलपरासी पश्चिमका केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ ।

त्यस्तै, कास्की, लमजुङ, बागलुङ, पर्वत, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र सर्लाहीलगायत जिल्लाका केही स्थानमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ ।

आज पनि केही स्थानमा भारी वर्षाको जोखिम

मौसमी प्रणाली कमजोर हुँदै गए पनि आज दिउँसो पहाडी तथा तराईका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहनेछ । मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आज दिउँसो पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

निरन्तरको वर्षाका कारण जमिन गलिसकेको, नदी तथा खोलामा पानीको सतह बढेको र पहिरोको जोखिम उच्च रहेकाले प्रभावित मध्य भूभागमा विभागले ‘रातो’ रङको उच्च सतर्कता चेतावनी जारी गरेको छ ।

मौसमविद् अधिकारीका अनुसार आज रातिदेखि भने मौसमी प्रणाली थप कमजोर हुँदै जानेछ । रातिको समयमा कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मात्र मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबारदेखि देशभर मौसम क्रमशः सफा हुँदै जाने विभागको पूर्वानुमान छ । विभागले सोमबारका लागि देशभर कुनै मौसमी जोखिम नरहेको जनाउँदै ‘हरियो’ संकेत जारी गरेको छ ।

सोमबारदेखि तराई क्षेत्रमा घाम लाग्ने तथा पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । मौसम सामान्य बन्दै जाने भएकाले सर्वसाधारणले दैनिक कामकाजसमेत सहज रूपमा सञ्चालन गर्न सक्ने विभागले जनाएको छ ।

तर पछिल्लो वर्षाका कारण जमिन कमजोर बनेको र नदी तथा खोलामा जलसतह बढेको अवस्था रहेकाले पहिरो तथा बाढीको जोखिम रहेका क्षेत्रमा तत्कालै जोखिम पूर्ण रूपमा हटिसकेको नठान्न विभागले सचेत गराएको छ ।