काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अविरल वर्षापछि उत्पन्न विपद्को अवस्थामा अधिवेशनका कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा र उद्धारलाई पहिलो प्राथमिकता दिन पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत थापाले देशभर वर्षाका कारण जनजीवन प्रभावित भइरहेकाले जोखिमयुक्त क्षेत्रमा निर्वाचन तथा अधिवेशनका गतिविधि रोक्दै उद्धार र राहतमा केन्द्रित हुन आग्रह गरेका हुन् ।

उनले मौसम विभाग तथा सम्बन्धित निकायका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राखेर विभिन्न जिल्लाका अधिवेशन निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको पनि उल्लेख गरेका छन् ।

'देशभर लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। मौसम विभाग तथा सम्बन्धित निकायहरूले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको छ।अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा हो। साथै, आफ्नो–आफ्नो क्षेत्रको अवस्था बुझ्दै अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न सक्रिय रूपमा जुट्नुहुन सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु,' थापाले भनेका छन् ।

उनले जोखिममा रहेका क्षेत्रमा निर्वाचनका गतिविधि स्थगित गरी नागरिकको सुरक्षामा केन्द्रित हुन पार्टीका सबै तहका पदाधिकारी, महाधिवेशन प्रतिनिधि र क्रियाशील सदस्यलाई आग्रह गरेका छन् ।

विपद्मा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न आफ्ना क्षेत्रको अवस्था बुझेर सक्रिय रूपमा खटिन उनले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

यस्तै, स्थानीय तहमा रहेका कांग्रेसका संरचनालाई सरकारी तथा सुरक्षा निकाय र स्थानीय स्वयंसेवकसँग समन्वय गरी उद्धार, राहत तथा विपद् व्यवस्थापनमा जुट्न सभापति थापाले आग्रह गरेका छन् ।