हेटौंडा - बुहारीको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ४ जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मलेन गरी ५८ वर्षीय ससुरा प्रकाश थापा, ५५ वर्षीया सासु तुलसा थापा र नन्दहरु २७ वर्षीया दुर्गा थापा र २३ वर्षीया सीता थापालाई सार्वजनिक गरेको हो ।

घरायसी विवादका साथै मानसिक यातना, यौनजन्य कारण र आर्थिक कुरा हत्याको कारण रहेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौंरले जानकारी दिए ।

ससुरा प्रकाश र नन्द सीतालाई हत्या गरेको आरोप लागेको छ भने सासु तुलसा र नन्द दुर्गालाई हत्यामा सहयोगी भूमिका खेलेको आरोप लागेको छ ।

गत असार २ गते हेटौंडा उपमहानगरपालिकास्थित सूर्यचोकमा २४ वर्षीया सुस्मिता केसी हत्या भएको थियो । ससुरामाथि बुहारीलाई बलात्कार प्रयास गरेको आरोपसमेत लागेको छ ।

घर परिवारले काठको लौरो र ढुङ्गा प्रहार गरी बुहारीको हत्या गरी आत्महत्या गरेको भन्दै प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।